जमशेदजी टाटा (“भारतीय औद्योगिक क्षेत्रको जन्मदाता ”)

 " इमान्दारिता, बजारको अध्ययन र अवसरको सदुपयोगले सफलता दिलाउँछ । "

जमशेदजी टाटा




परिचय


जमशेदजी टाटा भारतका प्रसिद्ध उद्योगपति तथा भारतको ठूलो कम्पनी “टाटा समूह” का संस्थापक हुन् । भारतीय औद्योगिक क्षेत्रमा जमशेदजीको ठूलो योगदान रहेकाले उनलाई “भारतीय औद्योगिक क्षेत्रको जन्मदाता ” मानिन्छ । उनको जन्म सन् १८३९ मार्च ३ मा भएको थियो ।


प्रारम्भिक यात्रा



जमशेदजी नुसीरवानजी टाटाको जन्म दक्षिणी गुजरातको नवसारीमा एक पारसी परिवारमा भएको थियो। उनको पिताको नाम नुसीरवानजी र आमाको नाम जीवनबाई टाटा थियो । उनका बुवा परिवारमा आफ्नो व्यवसाय गर्ने पहिलो व्यक्ति थिए। चौध वर्षको उमेरमा जमशेदजी आफ्ना बुवासंग बंबई अहिलेको मुम्बई आएर काम गर्न शुरू गरेका थिए। सत्र वर्षको उमेरमा उनले मुंबईको “एलफ़िंसटन कलेज” मा भर्ना भए । सन् १८५८मा “ग्रिन स्कलर (स्नातक स्तरको डिग्री)” मा उत्तीर्ण भएपछि उनी बुवासंग व्यवसायमा पूर्ण रुपमा लागे। त्यसैताका उनको विवाह हीरा बाई दबूसंग भएको थियो ।


व्यवसायिक यात्रा 


सन् १८५७ मा भारतमा भएको विद्रोहका कारण सन् १८५८ ताका भारत अशान्त अवस्थामा थियो। जमशेदजीको बुवाको निर्यात कम्पनीको अवस्था निराशजनक हुँदाहुँदै पनि उनले कडा मेहेनतका साथ कम्पनीलाई माथि उठाउने प्रयास जारी राखे । मेहनतको प्रतिफल स्वरुप जापान,चीन,यूरोप,अमेरिकामा आफ्नो व्यवसायको शाखाहरु खोल्न उनी समर्थ भए ।


व्यापारकै सिलसिलामा विदेश भ्रमण गर्दा जमशेदजीको व्यापार सम्बन्धी ज्ञानमा वृद्धि भयो र ब्रिटिश आधिपत्य रहेको कपडा उद्योगमा भारतीय कम्पनी पनि सफल हुनसक्छ भन्ने अनुभव भयो । २९ वर्षको उमेरसम्म उनले बुवाको कम्पनीमा काम गरेपछि सन् १८६८ मा जम्मा २१ हजारको पूँजी लगाएर एक व्यापारिक प्रतिष्ठान स्थापित गरे। सन् १८६९ मा उनले एउटा ऋणमा डुबेको तेल मिल किनेर त्यसलाई कटन मिलमा रुपान्तरण गरी त्यसको नाम एलेक्जेंडर मिल राखे। दुई वर्षपछी जमशेदजीले सो मिल राम्रो नाफाका साथ बेचेर सन् १८७४ मा नागपुरमा एउटा नयाँ कटन मिल स्थापित गरे। जब महारानी विक्टोरियालाई ‘भारत की रानी’ भनेर उपाधि दिइयो तब उनले आफ्नो मिलको नाम “इम्प्रेस्स मिल” राखे । उनले मुम्बई र कुर्लामा अरु मिलहरू पनि खोले । उनी एक मानव अधिकारवादी र दक्ष नेता थिए त्यसैले उद्योगका कामदारहरुको कल्याणका लागि “मजदुर सुरक्षा नीति “ल्याएका थिए ।


जमशेदजीले आर्थिक स्वतन्त्रता नै राजनीतिक स्वतन्त्रता हो भन्ने कुरामा विश्वास गर्दथे । जमशेदजीको जीवनमा आफ्नो देशको समृद्धिको लागि चार ठूला लक्ष्यहरु थिए । एउटा स्टील कम्पनी,एउटा विश्व प्रसिद्ध विज्ञानअध्ययन केंद्र स्थापित गर्नु , एउटा राम्रो होटल खोल्नु र एउटा जलविद्युत परियोजना खोल्नु उनको परियोजना थियो । उनी एक आदर्शवादी समाजसेवी थिए । सन् १८९२ मा उनले “जे एन टाटा इन्डमन्ट” को स्थापना गरेर उच्च शिक्षा हासिल गर्न चाहने जुनसुकै पनि जातिका वा समुदायका विद्यार्थीका लागि बेलायतमा बन्दोबस्त गरिदिएका थिए । सन् १८९८ मा उनले अनुसन्धान केन्द्र खोल्नका लागि आफ्नो जमिन दिएका थिए ।


जमशेदजीको जीवनकालमा पूरा हुन नसकेका योजना उनका छोराहरुले पूरा गरे, जसअनुसार “द इन्डियन इन्स्टिच्युट अफ साइन्स” को स्थापना भयो जुन संस्था अहिलेको समयमा निकै प्रतिष्ठित छ । सन् १९०३ मा उनको योजनाको फलस्वरूप होटल “ताज” को स्थापना भयो । त्यो समयमा “ताज” भारतको एकमात्र होटल थियो जहाँ बिजलीको व्यवस्था थियो l ताज होटलको स्थापना उनको राष्ट्रवादी सोचको परिणाम थियो किनकि भारतमा त्यो बेला भारतीयहरुलाई राम्रो यूरोपियन होटलहरुमा प्रवेश गर्न दिइँदैनथ्यो । र, उनले आफूले त्यस्तै ठूलो होटल खोलेर उनीहरुलाई देखाउने संकल्प गरेका थिए । सन् १९०० तिर उनले जलविद्युत परियोजना ल्याएका थिए । तर सन् १९०४ मा उनको अकस्मात मृत्युले सो योजना अधुरै रह्यो ।


सफलता



जमशेदजी टाटा लाई “भारतीय औद्योगिक क्षेत्रको जन्मदाता”भनिन्छ ।”टाटा ग्रुप अफ कम्पनी “अहिले भारतको सबैभन्दा ठूलो बिजनेस ग्रुप र एउटा सफल मल्टिनेशनल कम्पनी बन्न सफल भएको छ । सन् १८६८ मा स्थापना गरिएको व्यवसायका अहिले टाटा ग्रुप अन्तर्गत टाटा स्टील,टाटा मोटर्स ,टाटा केमिकल्स ,टाटा पावर ,टाटा कन्सल्टेन्सी सर्भिस जस्ता सयौं कम्पनीहरु संचालनमा छन् ।


*********************************************************************************

आफ्नै काम गर्ने चाहना धेरैजसो व्यक्तिमा हुन्छ । तर केही मात्र सफल हुन्छन् । यसको कारण पर्याप्त पूर्वतयारि नहुनु पनि हो । आफ्नो लक्ष्य, आफूले गर्न चाहेको कामलाई गहिरिएर बुझ्नुपर्छ । बजार तथा सम्भावनाहरुको अध्ययन गर्नुपर्छ । भविष्यमा आउन सक्ने बाधाहरुका लागि आफूलाई तयार पार्नुपर्छ । जस्तोसुकै परिस्थितिमा अगाडी बढ्ने दृढता राख्नुपर्छ । आफ्नो यात्रालाई बीचमै टुंगाउने गल्ती गर्नु हुँदैन ।

*************************************************************************

Post a Comment

0 Comments