मदन भण्डारी " नेपालको राजनीतिमा गुन्जिरहने नाम "

" सिद्धान्तका लागि जीवन होइन, जीवन को लागि  सिद्धान्त हुनुपर्छ"


मदन भण्डारी 

परिचय

मदन भण्डारी नेपालको राजनीतिमा गुन्जिरहने नाम हो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता भएतापनि मदन भण्डारीलाई नेपाली जनता सबैको नेता हुन लायक नेताको रुपमा चिनिन्छ । दुर्घटनामा ज्यान गुमाएका भण्डारीको नाम अहिले पनि उत्तिकै मान र प्रतिष्ठाका साथ लिइन्छ। उनको जन्म वि .सं. २००९ असार १४ गते भएको थियो।


प्रारम्भिक जीवन

नेपालको पूर्वी क्षेत्रमा रहेको ताप्लेजुङ्ग जिल्लाको ढुंगेसाँघु भन्ने ठाउँमा बुवा देवीप्रसाद भण्डारी र आमा चन्द्र कुमारीको माइला छोराको रुपमा मदन भण्डारीको जन्म भएको हो । उनका बुवालाई गाउँलेहरुले सुब्बाको मान दिएका थिए । जसले गर्दा उनको बाल्यकाल राम्रो वातावरणमा बित्यो। वि. सं. २०१५ मा गाउँकै हिउँदे स्कुलमा भर्ना भएका उनले २०२३ मा गाउँको स्कुलको पढाइ सकेका थिए। स्मरणशक्ति तेज भएका कारण बालककालमै चण्डी याद गर्न सक्ने प्रतिभाकै कारण उनको नाम गाउँमा फैलिएको थियो । वि.सं २०२४ मा उनको परिवार मोरङको इटहरामा सर्यो भने मदन भण्डारी पढाइ पूरा गर्नको लागि भारत गए । दुई वर्ष मथुरा, त्यसपछि देहरादुन हुँदै वनारस पुगेका उनले वि.सं. २०२३ मा वनारस विश्वविद्यालयबाट भाषा साहित्यमा स्नातकोत्तर गरेका थिए।


राजनीतिक जीवन

मदन भण्डारीको राजनीतिक जीवनको सुरुवात पुष्पलालसंगको भेटपछि सुरु भएको मानिन्छ। पुष्पलालसंग उनको भेट भएको एक वर्षपछि, वि.सं. २०२९ मा पुष्पलालको पार्टीले जनवादी सांस्कृतिक मोर्चा निर्माण गर्ने प्रक्रिया थाल्यो र मदन भण्डारी उक्त मोर्चाको केन्द्रिय सदस्य बने। २०३० मा उनी त्यहाँ पूर्णकालीन सदस्य भए। वि. सं. २०३३ सालमा मदन भण्डारी लगायतका नेताहरुले मुक्तिमोर्चा समूहको निर्माण गरे। त्यसपछि मुक्तिमोर्चा समूह निर्माण गरेका नेताहरु पुष्पलालको पार्टीसंग विद्रोह गरि ‘को- अर्डिनेशन केन्द्र’ मा आबद्ध भए र मुक्तिमोर्चा समूहलाई पनि ‘को-अर्डिनेशन केन्द्र’ मै मिलाए। यो संगठन विकास हुँदै वि.सं. २०३५ सालमा नेकपा ( माले ) पार्टी स्थापना भयो, जसमा मदन भण्डारी केन्द्रिय सदस्य बने।

प्रखर वक्ता र साहित्यमा समेत उत्तिकै रुची राख्ने मदन भण्डारी २०४१ साल वैशाखमा नेकपा (माले) पार्टीको पोलिटब्युरो सदस्य बने । २०४६ सालको आन्दोलन पछि भूमिगत जीवनबाट बाहिर आई भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी-लेनिनवादी) र मनमोहन अधिकारी द्वारा नेतृत्व गरिएको नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी) लाई एकीकरण गरी नेकपा (एमाले) गठन गर्न महत्त्वपूर्ण भूमिका खेले। माले-माक्र्सवादी एकीकरणबाट उनी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत मार्क्सवादी-लेनिनवादी)को महासचिव बने। बहुदलीय जनवादको नीति प्रतिपादन गरेका उनी २०४८ सालको संसदीय निर्वाचनमा नेपाली कांग्रेसका तत्कालीन सभापति एवम् अन्तरिम प्रधामन्त्री कृष्णप्रसाद भट्टराईलाई पराजित गरी काठमाडौँ क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भए।

२०४६ मा बहुदल आउनुभन्दा पहिले पार्टीका केही मान्छेले मात्र चिन्ने मदन भण्डारीलाई सबै जनताले चिन्न थाले । बहुदल आएपछि भूमिगत जीवनबाट बाहिर आएका उनको भाषण सुन्न टाढाटाढाबाट समेत मान्छे जम्मा हुन्थे । मदन भण्डारीको भाषण भन्नासाथ एक घण्टामै हजारौं जनता खुलामञ्चमा जम्मा हुन्थे । सरल, मिठासपूर्ण र अनुप्रासयुक्त ठेट भाषासँगै कठोर राजनीतिक शब्दावलीमा भाषण गर्ने भण्डारीका भाषणका हरेक बुँदामा ताली र सिटी बज्थ्यो । तत्कालीन समयमा राजालाई नै चुनौती दिन सक्ने खुबी भएका प्रखर वक्ता भण्डारीको भाषण जादुमयी हुन्थ्यो । विश्व प्रसिद्ध अमरिकी पत्रिका न्यूजविकले प्रसंशा गर्दै ‘कार्ल माक्र्स लिभ इन’ नेपाल भनेरै मदन भण्डारीको अन्तरर्वार्ता नै छाप्यो ।

२०४७ चैत ५ मा काठमाडौंमा आयोजित चुनावी सभामा मदन भण्डारीले गरेको भाषणको केही अंश :

---

हामीले त यो भनेका छौं जुन त्रिपक्षीय सम्झैता हो, त्यो त्रिपक्षीय सम्झौतालाई पालन गरेर ढुक्कसँग कुनै हात नलम्काइकन, आँखा नचम्काइकन राजा यदि बसिरहन्छन् भने अहिले हामीलाई केही आपत्ति छैन । राजा मान–सम्मान पाएर बसिरहुन् । यो कुरा सुन्दाखेरी, यो कुरालाई हामीले बाहिर अभिव्यक्त गर्दाखेरी धेरै ठाउँबाट हाम्रा केही कम्युनिष्ट आन्दोलनभित्रकै मित्रहरूले हामीलाई भनेका छन्– यिनीहरू त राजावादी भए ।

अब मैले यसको धेरै ठाउँमा खण्डन गरेको छु र म यहाँ पनि दुई शब्द के राख्न चाहन्छु भने अहिलेको यो शक्ति–सन्तुलनको स्थितिमा, वर्गसंघर्षको स्थितिमा राजाले शान्तिका साथ हकअधिकार र राजनीतिक अधिकारका कुराहरू जनतालाई सुम्पिएर मानसम्मानको उपभोग गर्दै त्यस ढंगले बसिरहन्छन् भने अहिलेलाई हामीलाई कुनै आपत्ति छैन भनेका हौं र यो भन्दाखेरी अर्थात् राजासँग सम्झौता गर्दाखेरी हामी अराजावादी भएका छैनौं, हामी राजावादी होइनौं । नोट गरेर राखे हुन्छ पत्रकार !

---------

वि. सं. २०३९ मा मदन भण्डारीले विद्या पाण्डेसँग विवाह गरेका थिए। उनीहरूबाट उषाकिरण र निशाकुसुम नामका दुइवटी छोरीहरू जन्मिए। आफ्नो राजनीतिक यात्राको सपनालाई मूर्त रुप दिन नपाउँदै भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो। दुर्घटनाको अनुसन्धानको लागि थुप्रै आयोग तथा समिति गठन भएतापनि सत्यतथ्य हालसम्म पनि बाहिर आउन सकेको छैन।


सफलता

अल्पायुमै निधन भएतापनि मदन भण्डारीले आफ्नो पहिचान बनाएर गए। उनको पार्टी मात्र नभएर आम जनताले समेत उनलाई आजसम्म सम्झिरहन्छन्। नेपाली राजनीतिमा उनको योगदान अतुलनिय छ। लेनिनले सबैभन्दा पहिला संसारमा स्थापित गरेको सोभियत समाजवाद असफल भएर विश्व कम्यूनिष्ट आन्दोलनले गम्भीर धक्का खाएको बेलामा पनि माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्दै नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्त प्रतिपादन गरे । मदन भण्डारीकी श्रीमती विद्यादेवी भण्डारी नेपालको राष्ट्रपती हुनुभयो । र, मदन भण्डारीको अभाव आज पनि जनताले महसुस गरिरहन्छन् ।

**************************************************************************************************

समय अभावले काम गर्न पाइएन भन्नु केवल एउटा बाहना मात्र हो । मानिसमा इच्छाशक्ति र दृढता भयो भने, उनीहरु त्यो समय अनुसार चल्छन् , र त्यो समयलाई नै आफ्नो प्रभावमा पार्न सक्छन् । ठीक त्यसैगरी, जसरि, मदन भण्डारी छोटो आयू बाँचे, तर त्यो छोटो आयूमा उनले देखाएको इच्छाशक्ति र साहसले उनी नेपाली राजनीतिमा अमर नेता बनेर रहे।

****************************************************************************************************



Post a Comment

0 Comments